राज्यपाल ओमप्रकाश माथुरले नथुला हुँदै कैलाश-मानसरोवर यात्राको निम्ति झण्डा देखाएर प्रस्थान गराए

नथुला हुँदै कैलाश-मानसरोवर यात्रा फेरि शुरु भएको साक्षी बन्नु हामी भाग्यशाली हौं : राज्यपाल

गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज नथुला हुँदै कैलाश-मानसरोवर यात्राको निम्ति टोलीलाई झण्डा देखाएर प्रस्थान गराए। तीर्थ यात्रीहरूको प्रथम ब्याचमा विभिन्न राज्यका तीर्थालु, सम्पर्क अधिकारी र एकजना चिकित्सा अधिकारी सामेल छन्। यस ब्याचमा पवित्र कैलाश-मानसरोवरको यात्रा गर्न दृढ सङ्कल्पित महिलाका साथै वरिष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको छ।

राज्यपाल माथुरले यात्रालाई झण्डा देखाएर प्रस्थान गराउनअघि, बिहानै नथुला पुगी राज्य सरकारका अधिकारी, सम्पर्क अधिकारीका साथमा सेना अनि आइटीबीपी कर्मीहरूको उपस्थितिमा यात्रीहरूसँग संवाद गरे। संवादका क्रममा राज्यपालले सबैलाई सफल यात्राको निम्ति शुभकामना व्यक्त गरे भने तीर्थालुहरूले भारत सरकार, सिक्किम सरकारका साथै विभिन्न राज्य अनि केन्द्र सरकारका विभाग अनि अभिकरणहरूप्रति आभार व्यक्त गरे।

पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्यपाल माथुरले यस ऐतिहासिक क्षणको साक्षी बन्नपाउनु स्वयं अनि सिक्किमका मानिसहरू भाग्यशाली रहेको बताए। कैलाशलाई हिन्दूहरूले सबैभन्दा पवित्र अनि मनोरम तीर्थ स्थान मान्ने गरेको उनले बताए। अथक प्रयासका लागि उनले केन्द्र अनि राज्य सरकारका साथै राज्यका मानिसहरूप्रति उनले कृतज्ञता व्यक्त गरे। यो यात्रा आउँदो दिनहरूमा पनि निरन्तर रहनुपर्ने उनले आशा व्यक्त गरे। यसका साथै राज्यपाल माथुरले तीर्थालुहरूका लागि आवश्यक चिकित्सा, आराम अनि सुरक्षा उपायका लागि सिक्किम सरकारको पर्यटन विभाग तथा भारत-तिब्बत सीमा बललाई पनि धन्यवाद दिए।

परराष्ट्र मन्त्रालयका सम्पर्क अधिकारी सञ्जयकुमार कोठारीले सबै तीर्थालुलाई परराष्ट्र मन्त्रालयले सबै विषयमा अवगत गराएको जानकारी दिए। सुन्दर सुविधा उपलब्ध गराएकोमा तीर्थाटन टोली सिक्किम सिक्किम पर्यटन विकास निगमप्रति कृतज्ञ रहेको उनले बताए। तीर्थ यात्रीहरूको टोलीले गान्तोक आइपुगेपछि केही दिन मौसम अनुकूलनका लागि 17 माइल र शेरेथाङमा बिताएको पनि उनले जानकारी दिए। सबै तीर्थ यात्री अब पूर्णरूपले तयार रहेको र यात्रा अघि बढाउन उत्सुकताका साथ प्रतीक्षा गरिरहेको पनि उनले जानकारी दिए।

आइटीबीपीका मुख्य चिकित्सा अधिकारी डा. सोनिया परासरले सबैलाई यात्रीको दिल्लीमा पहिले र दोस्रो चरणको चिकित्सा जाँच शेरेथाङमा गरिएको जानकारी दिइन्। सबैजना यात्रामा जान तम्तयार रहेको जानकारी दिँदै तीर्थ यात्रीहरूलाई आइटीबीपीका एकजना चिकित्सा अधिकारी दिल्लीदेखि नै साथ रहेको र उनीहरूसँगै फर्किने पनि अवगत गराइन्। यस ब्याचमा 13 जना महिला सामेल रहेको र यसले यात्राका लागि उनीहरूको अपार शारीरिक अनि मानसिक लचिलोपन प्रदर्शित गर्ने उनले बताइन्।

यस यात्राका सहभागी आन्ध्र प्रदेशका सूर्य कुन्देतीले उत्तम व्यवस्थाका लागि प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा सिक्किम सरकारलाई धन्यवाद दिए। कैलाश-मानसरोवर यात्राको निम्ति आज प्रस्थान गर्ने तीर्थालुहरूमा अपार उत्साह रहेको थियो। यस वर्ष नथुला हुँदै कैलाश-मानसरोवर यात्रामा 10 ब्याच जानेछ। यस कार्यक्रममा सिक्किम विधानसभाका उपाध्यक्ष, सिक्किम सरकारका कैयौं मन्त्री, अतिरिक्त मुख्य सचिव, पर्यटन एवं नागरिक उड्डयन विभाग, सेना अनि आइटीबीपीका वरिष्ठ अधिकारीगण, सिक्किम सरकारका अधिकारीहरू लगायत जिल्ला अधिकारीहरू पनि उपस्थित थिए। -पीआईबी

 


Comments

Popular posts from this blog