युवा साहित्यकार प्रवीण खालिङको "चिया गफ" लाई 28औँ डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार प्रदान गरिने
गान्तोक: डा. शोभाकान्ति थेगिम (लेप्चा) ट्रस्टको 19 मईमा सम्पन्न बैठकमा गान्तोकका साहित्यकार तथा पत्रकार प्रवीण
खालिङलाई उनको निबन्ध सङ्ग्रह ‘चिया गफ’-का लागि 28औँ डा. शोभाकान्ति
थेगिम (लेप्चा) स्मृति पुरस्कार, 2025 प्रदान गर्ने
निर्णय लिइएको छ। उक्त नाम दुई स्तरीय छनोट समितिको अग्रसारणमा अनुमोदन गरिएको
बताइएको छ। यो पुरस्कार प्रत्येक वर्ष
दिवङ्गत डा. शोभाकान्ति थेगिमको जन्मजयन्ती 4 जुलाईमा
प्रदान गरिन्छ,
जसमा नगद पुरस्कार रु. 50,001, एक ताम्रपत्र र प्रमाणपत्र सामेल छन्। प्रवीण खालिङलाई यो वर्षको पुरस्कार आगामी
4 जुलाईमा आयोजन गरिने विशेष समारोहमा प्रदान गरिनेछ।
ज्ञात रहोस्, सन् 1998 देखि प्रत्येक वर्ष लेखकहरूलाई डा. शोभाकान्ति थेगिम
(लेप्चा) स्मृति पुरस्कार प्रदान गर्दै आएको ट्रस्टले 2019 देखि 25 जना विशिष्ट
साहित्यकार,
सङ्गीतकार र प्रकाशकहरूलाई पनि 4 जुलाईमा सम्मानित गर्दै आएको छ। यस वर्ष पनि ट्रस्टले
सांस्कृतिक सम्पदा संरक्षण,
प्रवर्द्धन र प्रेरणाका निम्ति चारजना विशिष्ट व्यक्तित्व
क्रमैले पत्रकार सुवास दीपक, नाट्यकार रूपा तामाङ, विक्रम गौतम र चित्रकार दीपा राईलाई सम्मान जनाउने घोषणा
गरेको छ। 6 दिसम्बर, 1986 मा गान्तोकको
कोपीबारी,
माथिल्लो स्यारीमा प्रदीप खालिङ र गङ्गा खालिङका छोराका रूपमा जन्मिएका
प्रवीण खालिङको प्रारम्भिक शिक्षा दार्जीलिङको विद्या विकास एकाडेमीबाट भएको थियो।
उनले राजनीति विज्ञान र नेपाली साहित्यमा स्नातकोत्तर तहको शिक्षा सिलगढ़ीको उत्तर
बङ्गाल विश्वविद्यालयबाट हासिल गरेका हुन्। खालिङको साहित्यिक यात्रा विद्यालय
जीवनदेखि नै प्रारम्भ भएको थियो। छैटौँ श्रेणीमा अध्ययन गर्दाताका नै उनले कथा र
कविता लेख्न थालेका थिए। उनका कृतिहरूमा चिह्नारी, सीमान्तीकरण,
ग्रामीण जीवनशैली तथा सामाजिक-राजनीतिक चेतना प्रमुख
विषयवस्तुका रूपमा पाइन्छन्। उनी प्रेम, अस्तित्व र
हिमाली जीवन अनुभूतिलाई कविता, निबन्ध र कथामार्फत
चित्रण गर्न सिद्धहस्त छन्। उनका हालसम्म दुईवटा कृति प्रकाशित छन्, जसमा ‘झरी’ कविता सङ्ग्रह र ‘चिया गफ’ निबन्ध सङ्ग्रह हुन्। हालसम्म खालिङले एक्सिलेन्स
पत्रकारिता पुरस्कार (कालेबुङ-2010), राम पात्रो स्मृति
पुरस्कार (गान्तोक-2011),
लेखराज साहित्य पुरस्कार (नारायणगढ़- नेपाल 2017), जलवायु परिवर्तन सम्बन्धी रिपोर्टिङका लागि मुख्यमन्त्री
पुरस्कार (गान्तोक-2023),
साहित्य सम्मान पुरस्कार (पाक्योङ-2023)
र हिल टाइम्स पुरस्कार (दार्जीलिङ-2024) रहेका छन्। ट्रस्टले पुरस्कारका निम्ति चयनित व्यक्ति प्रवीण खालिङ, सुवास दीपक, विक्रम गौतम, रूपा तामाङ र दीपा राईलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त
गरेको छ। बैठक ट्रस्टकी न्यासी सानु सुब्बाको अध्यक्षतामा धन्यवाग ज्ञापनसँगै समाप्त
भएको ट्रस्टका अध्यक्ष डुप छिरिङ लेप्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
Comments
Post a Comment