चिया कविता पुरस्कार-2025 मन्दीप लामालाई

गान्तोक: चिया कविता सिक्किमले वर्ष 2025-को चिया कविता पुरस्कारद्वारा प्रसिद्ध लेखक, नाटककार, गीतकार,अनुवादक एवम् सङ्गीतकार मन्दीप लामालाई पुरस्कृत गर्ने निर्णय लिएको छ। आज गान्तोकमा साहित्यकार प्रवीण राई जुमेलीको अध्यक्षतामा बसेको चिया कविता सिक्किमको बैठकको सर्वसम्मतिले उनको नाममा मोहर लगाएको छ। आगामी 21 मई 2025-को दिन विश्व चिया दिवसको अवसरमा गान्तोकको रचना बुक्समा आयोजन गरिने एक विशेष समारोहमा लामालाई पुरस्कृत गरिने भएको छ।

सन् 197080-को दशकमा मन्दीप लामाले सिक्किममा नाट्य एवम् सङ्गीतको क्षेत्रमा अमूल्य योगदान दिएका छन्। सिक्किममा नाटक प्रस्तुतिलाई आधुनिक तक्निकीसित जोड्ने नाटककार लामा हुन् जसले प्रसिद्ध नाटक रक्तिम रातको रचना गरेका थिए। सिक्किम क्रिएटीभ आर्ट्स एण्ड ड्रामा अर्गनाइजेशन (क्याडोज)-का महासचिव रहेका लामाले गीत अनि गीताङ्गे’-को प्रस्तुतिमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। उनले नाट्कसँगै चलचित्र जगतमा पनि योगदान दिएका थिए। लामाले अ ब्रिफ एक्सकर्सन इन्टु द सेक्रेट फेमिनाइन एण्ड अदर एसेस”-नामक पुस्तक लेखेका छन् भने धेरै पुस्तकहरूको अनुवाद पनि गरेका छन्।

नाट्य लेखन एवम् निर्देशनसँगै  मन्दीप एक कुशल सङ्गीतकारको रूपमा पनि चिनिन्छन्। गान्तोकको डेभलपमेन्ट एरिया निवासी बहुप्रतिभाका धनी लामाको नाट्य, साहित्य,  कला एवम् सङ्गीत क्षेत्रमा दीर्घकालीन योगदानको मूल्याङ्कन एवम् कदर गर्दै चिया पुरस्कारद्वारा विभुषित गरिने निर्णय लिइएको। उनलाई नगदराशि, स्मृतिचिन्ह र प्रशस्तिपत्रद्वारा पुरस्कृत गरिनेछ। विश्व चिया दिवसको अवसरमा चियाबारे इलाम, नेपालका चिया विशेषज्ञ आरसी नेपालले चिया वार्ता प्रस्तुत गर्ने छन् भने  भारत र नेपालका स्थापित कविहरूको भव्य उपस्थितिमा कविता सङ्गम  आयोजन गरिने सभाले निर्णय लिएको बताइएको छ।

Comments

Popular posts from this blog