गान्तोकमा सीमा क्षेत्र युवा विनिमय कार्यक्रम उद्घाटन

गान्तोक: राष्ट्रिय एकता अनि युवा विकासलाई प्रोत्साहित गर्ने पहल अनुरूप, भारत सरकारको युवा मामिला एवं खेल मन्त्रालयले सीमा क्षेत्र युवा विनिमय कार्यक्रम शुरु गरेको छ। यो कार्यक्रम 26 फरवरीदेखि 2 मार्च, 2025 सम्म आयोजित हुनेछ जसमा सांस्कृतिक एवं शिक्षा विनिमयका लागि उत्तर प्रदेश, बिहार, ओडिशा, झारखण्ड अनि पश्चिम बङ्गाल गरी पाँच राज्यका 27 प्रतिभागी सिक्किम आइपुगेका छन्। बिहीबार (२७ फरवरी) गान्तोकमा आयोजित उद्घाटन समारोहमा 23-स्यारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङनर्बू लाम्ठा मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा एनएसएस प्रकोष्ठकी श्रीमती बबिता छेत्री, खेलकूद विभागका सहायक निर्देशक भानुभक्त चापागाइँ, एनएसएसओका पीओ अर्जुन प्रधानलगायत अन्य गणमान्यजन उपस्थित थिए।

दीप प्रज्ज्वलन अनि स्वामी विवेकानन्दलाई पुष्पाञ्जलि अर्पणसँगै कार्यक्रम शुरु भएको थियो, जसमा गान्तोकका डीवाईओ सौरभ बर्मनले कार्यक्रमको उद्देश्य अनि गतिविधिबारे प्रतिभागीहरूलाई अवगत गराए। यसपछि सांस्कृतिक कार्यक्रममा सिक्किमको एमवाई भारत लगायत अतिथि राज्यका स्वयंसेवीहरूले आफ्नो पारम्परिक भेषभूषामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। विनिमय कार्यक्रम विविध सांस्कृतिक बुझाई अनि सराहना प्रोत्साहित गर्न लक्षित छ। आफ्नो सम्बोधनमा मुख्य अतिथि लाम्ठाले सिक्किमको सीमामा भारतका वीर सैनिकहरूले सामना गर्ने चुनौतीहरूबारे अवगत गराए। युवा विनिमय कार्यक्रमको माध्यमद्वारा राष्ट्रिय एकता प्रोत्साहित गर्ने नेहरू युवा केन्द्र सङ्गठनको पहलको पनि उनले सराहना गरे।

मेरा युवा भारतको अवधारणाबारे बुझाउँदै मुख्य अतिथिले विकसित भारतको निम्ति युवाहरू मिलेर अघि आउनुपर्ने कुरामाथि जोड दिए। यसका साथै युवाहरूलाई स्वामी विवेकानन्दका आदर्शहरू अनुसरण गर्दै शक्तिसम्पन्न भारत निर्माण गर्ने दिशामा काम गर्न पनि आह्वान जनाए।


 कार्यक्रमको दोस्रो चरणमा राष्ट्रिय युवा पुरस्कार विजेता मोहन ढकाल, एनएसएसका पीओ अर्जुन प्रधान अनि डीवाईओ सौरभ बर्मनद्वारा शैक्षणिक सत्र आयोजित गरियो। सीमा क्षेत्र युवा विनिमय कार्यक्रम विभिन्न राज्यका युवाहरूबीच बढी बुझाई अनि मैत्री प्रेरित गर्दै राष्ट्रिय एकता अनि विकास प्रोत्साहित गर्न लक्षित छ। -पीआईबी

Comments

Popular posts from this blog