‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
काठमाडौं: अक्टोबर ३१ (कात्तिक १५ गते)मा रिलिज हुने बहुप्रतिक्षित नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ। आज एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेशा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ। गन्धर्व भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ। सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ।
सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्। चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा रहेको निर्माता पौडेलले बताए। चलचित्रको मुख्य भूमिकामा रहेका विजय बराल टिजर सार्वजनिक भएसँगै दर्शकको प्रतिक्रिया र मायाले हौसिएका छन्। आफ्नो कामको तारिफ हुँदा खुशी लागेको भन्दै उनी भन्छन्, “यसपटक अझ बढी खुशी छु। आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा ऊर्जा मिलेको छ। कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ।”
Comments
Post a Comment