भारतीय नेपालीलाई घच्घच्याउन आइपुग्यो युवराजको ‘पेण्डुलम’
खरसाङ: भारतमा नेपालीहरूको धमनी मानिने दार्जीलिङ पहाडको अवस्था कहिले देशको राजधानी दिल्ली कहिले पश्चिम बंगालको राजधानी कोलकातातिर हेर्नुपर्ने छl घडीको पेण्डुलम जस्तै दार्जीलिङ पहाडको आँखा चल्छ कहिले दिल्लीतिर कहिले कोलकातातिरl आखिर के भारतमा नेपालीहरूको स्थिति पेण्डुलम जस्तै छ? यसलाई बुझ्न, चिन्तन गर्न, विश्लेषण गर्न युवराज सुन्दासको नयाँ कविता संग्रह ‘पेण्डुलम’ पढ्नु पर्छl खरसाङदेखि करिब १७ किलोमिटर टाडो तीनधारे निवासी युवराज सुन्दास दार्जीलिङ पहाडी भेकका सुपरिचित पत्रकार साथै नमस्ते खरसाङ टीभी च्यानलका एकजना राजनैतिक विश्लेषक पनि हुन्l
आइतबार (१४
जुलाई) तीनधारेको गान्धी मेमोरियल हलमा युवराज सुन्दासको यो नयाँ कृति ‘पेण्डुलम’
लोकार्पण भयोl भारतमा नेपाली समाजलाई घच्घच्याउने यो पुस्तक लोकार्पणको कार्यक्रमका
संचालक युवा कवि सुप्रेम छेत्री संचालनकै क्रममा यसरी जोशिन्छन्, ‘कहिले दिल्लीलाई
हेर्दै कहिले कोलकातालाई हेर्दै भारतमा गोर्खाहरू ‘पेण्डुलम’ भइरहेका छन्l’ उनको
यो भनाइ ‘पेण्डुलम’ जस्तै हल्लिने राजनीतिले भारतमा नेपालीहरू पीडित, प्रताडित
रहेको महसुस हुन्छl ‘पेण्डुलम’ श्रीमती अरुणा सुन्दासद्वारा प्रकाशित गरिएको छl यस्तो
छ ‘पेण्डुलम’को पहिलो पंक्ति:
“कहाँबाट शुरु गरौँ अनि कहाँ लागि टुंग्याउनेको
पेण्डुलम आँखाहरूले किन सोच्दैनन्?’
समयका चोटहरूबाट कवि युवराज सुन्दास पनि प्रताडित नै
रहेको र पीडित नै रहेको कुरा ‘पेण्डुलम’ कविता संग्रहबारे टिप्पणी गर्दै सुपरिचित
साहित्यकार विमल राई भन्छन्l कविता संग्रह ‘पेण्डुलम’मा कता कता मूर्त अमूर्त
कुराहरू गरेको युवराजले गरेको उनी आफ्नो
भनाइ राख्छन्l कवितामा युवराज सुन्दास भन्दा बढी पत्रकारको आत्मा रहेको आफ्नो
टिप्पणीमा विमल राईले विचार प्रकट गरेl
उनी भन्छन्, ‘युवराजलाई कवि भन्दा क्रिटिकल एसे लेख्ने पात्रको रुपमा हेर्छुl’
कविता संग्रह ‘पेण्डुलम’मा २७ वटा कविताहरू प्रस्तुत गरेका छन्l यसको मूल कविता ‘पेण्डुलम’मा
कथा भेटाएको विमल राईले आफ्नो रोचक गहकिलो टिप्पणीमा बताएl यस कविता संग्रहमा ‘यो हाम्रो खाजा’ कवितामा युवराज सुन्दासले डेढ सय
वर्ष भन्दा बढी समयदेखि आफ्नो खुन पसिना बगाएर कठिन संघर्षमय जीवन जिउँदै आएका
चियाबारीका श्रमिकहरूको दु:ख पीडालाई उजागर गरेका छन्l पत्रकार कवि युवराज सुन्दासको
अर्को कविता ‘मिडिया महिमा’ लोकतन्त्रको चौथो स्तम्भ मिडियालाई प्रश्नसहितको झटारो
हानेका छन्l लोकापर्ण समारोहका मुख्य अतिथि वरिष्ठ साहित्यकार जीवन नामदुंगले ‘पेण्डुलम’
पुस्तकमा यसरी लेखेका छन्, ‘कविता संग्रहको तुलनामा केही माझिएका परिष्कृत भाषाशैलीका
एकाध कविताहरू पनि यस संग्रहका विशेष आकर्षण रहेका छन्l सामाजिक चिन्ताले छोइएका कतिपय पठनीय कविताहरूमा ‘चोरबाटो’का
केही पंक्तिहरू उल्लेख्य छन्l’ ‘चोरबाटो’का पंक्ति यस्ता छन्:
‘हामीलाई चोरबाटो प्यारो लाग्छ
बिचमै चिप्लेर लडे पनि अरुहरूभन्दा
छिटो पुग्न मन लाग्छl
हामी कहाँ हो र
चोरबाटो हिडेको?
हाम्रो त पुस्ता पुस्ताको परम्परा नै
बनेको छ यो चोरबाटो हिड्ने बानीl’
वरिष्ठ साहित्यकार जीवन नामदुंग, कार्यक्रमका अध्यक्ष
विजय मगर, विशिष्ट अतिथि सुपरिचित साहित्यकार हस्त नेचाली, गोर्खाल्याण्ड
टेरिटोरियल एड्मिनिस्टे्रसन (जीटीए)का सभासद नवराज छेत्री, सुपरिचित साहित्यकार
विमल राई, साहित्य अकादमी दिल्ल्लीका परामर्श समितिका सदस्य तथा गोर्खा सांस्कृतिक
संस्थानकी अध्यक्ष आशा लामा मुखिया, डा. अमीर ठटाललगयात अन्य विशिष्ट अतिथिहरूको
बाहुलीबाट ‘पेण्डुलम’ लोकार्पण गरियोl लोकार्पण पछि युवाराज सुन्दासले भने, ‘कविता
चाहिं मैले लेखें, तर मेरो लाइफको शुरुआत एउटा पत्रकारबाट भएको होl पत्रकारितालाई
बिर्सिन सक्दिनँl’ यसै कार्यक्रममा तीनधारे निवासी नवीन प्रधानलाई नागरिक अभिनन्दन
अनि नेपाल आइडलका फाइनलिस्ट मोहित भुजेललाई सम्वर्द्धना जनाइयोl भारतीय नेपाली समाजका
सुपरिचित गायकद्वय महेश सेवा र कर्म मोक्तान गएका गीतले सबैको मनमा गहिरो छाप
बसाल्योl विशाल प्रधानले स्वागत भाषण राखेपछि शुरु भएको कार्यक्रममा मोहित भुजेल, सरस्वती
तामाङ, सुरज तामाङ गीत प्रस्तुत गरे भने बालिकाहरूले नृत्य प्रस्तुत गरेl तीनधारेको
गान्धी मेमोरियल जहाँ कुनै समय स्वर साम्राज्ञी स्व. अरुणा लामा, स्व. कुमार
सुब्बा साथै नेपालका धेरै कलाकारहरूको संगीतमय साँझ खुबै जमिन्थ्योl यसपाली यस
हलमा ‘पेण्डुलम’ले नेपाली समाजलाई
झक्झकाउने काम गरेको छl
Comments
Post a Comment