झुल्के घामका संस्थापक अध्यक्ष आरसी पौड्याल अस्ताए
गान्तोक: सिक्किमका
पूर्वमन्त्री आरसी पौड्यालको अन्तिम संस्कार उनको पुर्ख्यौली घर छोटा सिङतामबाट
अन्तिम यात्रा निकालेर रानी खोलामा भएको छ। सिक्किमको लोकतान्त्रिक आन्दोलनका
वरिष्ठ राजनीतिज्ञ तथा सिक्किममा झुल्के घाम पार्टीका संस्थापक अध्यक्ष पौड्याल
इतिहासको गर्भमा अस्ताएका छन्। गत ७ जुलाईदेखि
घरबाट बेपत्ता भएको नौ दिनपछि भारत–बंगलादेश सीमामा रहेको
टिस्टा ब्यारेजमा बंगलादेशतर्फ उनको शव फेला परेको थियो। सिक्किमका मुख्यमन्त्री
प्रेमसिंह तामाङ, मन्त्री, विधायक,
सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेता
तथा सर्वसाधारणको उपस्थितिमा उनको दाहसंस्कार गरिएको छ। मुख्यमन्त्री तामाङ उनको
निवास पुगेर श्रद्धाञ्जली अर्पण गरे।
सिक्किमका
पूर्वमन्त्री आरसी पौड्यालको शव ९ दिनपछि पश्चिम बंगालको सिलगढी नजिकैको टिस्टा
ब्यरेजमा फेला परेको पुलिसले बुधबार जनाएको छ। उनले भने, ‘मंगलबार
फुलबारीस्थित टिस्टा ब्यारेजमा ८० वर्षीय
पौड्यालको शव तैरिएको अवस्थामा फेला परेको
थियो।‘ अवलोकनका आधारमा शव टिस्टा
नदीले मास्तिरबाट बगाएर ल्याएको हुनसक्ने
आशंका गरिएको छ। घडी र उनले लगाएको कपडाबाट पहिचान गरिएको छ, भनि एक पुलिस अधिकारीले
बताए। गत ७ जुलाईको दिन पाकिम
जिल्लाको आफ्नो फुर्ख्यौली छोटा सिङ्तामबाट बेपत्ता भएका दिग्गज राजनीतिज्ञको खोजी
गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको पुलिसले जनाएको छ। ‘मृत्युको
अनुसन्धान जारी छ’, अधिकारीले भने। पौड्याल पहिले सिक्किम
विधानसभाको उपाध्यक्ष र पछि राज्यको वनमन्त्री
बने। ७० र ८० को दशकको उत्तरार्धमा झुल्के घाम पार्टी स्थापना गरेका हिमाली
राज्यको राजनीतिक परिदृश्यमा उहाँलाई महत्त्वपूर्ण व्यक्तित्व मानिन्थ्यो। उनी
सिक्किमको सांस्कृतिक र सामाजिक गतिशीलताको गहिरो बुझाइका लागि पनि परिचित थिए।
श्रद्धाञ्जली
अर्पण गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम सरकारमा विभिन्न पदमा मन्त्री
भएर काम गरेका र झुल्के घाम पार्टीका अध्यक्ष तथा प्रतिष्ठित वरिष्ठ राजनीतिक नेता
स्वर्गीय आरसी पौड्यालको आकस्मिक निधनले गहिरो दुःख लागेको बताए। स्वर्गीय पौड्याल
भविष्यवाणी प्रकरणले पनि चर्चामा रहेका थिए। सन् १९९४मा संसार प्रलय हुने उनले
गरेको भविष्यवाणीले निक्कै चर्चा बटुलेको थियो। यद्यपी उनको भविष्यवाणी सिद्ध नभए
पनि तत्कालिन सिक्किममा सत्तारूढ दलको सरकार भने परिवर्तन भएको थियो र नयाँ
राजनैतिक दलको उदय र सत्तासित बन्न पुगेको राजनैतिक प्रलय भने भएको थियो। स्वर्गीय
पौड्याललाई मुख्यतया सिक्किमको बहुसंख्यक नेपाली समुदायको राजनीतिक अधिकारको लागि
लड्ने पहिलो नेता मानिन्छ। जसले भारत सरकारको विधेयक नम्बर ७९ अन्तर्गत सिक्किमे
नेपालीहरूको लागि सिट आरक्षण हटाउने निर्णयप्रति कडा आपत्ति जनाउँदै सन् १९७९ मा
सर्वोच्च अदालतमा लामो कानुनी लडाइँ लडेका थिए। उनी हारेपछि सिक्किमका नेपालीका
लागि सिट आरक्षण सदाका लागि रद्द भयो तर अधिकारको निम्ति अझै राजनैतिक सक्रियता
भने विभिन्न दलमार्फत जारी छ। सोही निर्णयले सिक्किमको एउटा सिट धर्मको आधारमा
अक्षुण्ण राखेको छ र सिक्किम विधानसभामा भुटिया र लेप्चा समुदायका लागि १२ सिट
आरक्षित गरिएको छ। जबकि विधेयक नम्बर ७९ अघि सिक्किममा नेपाली र भुटिया लेप्चाका
लागि १६/१६ सिट आरक्षित थिए।उनको निधनले एउटा इतिहासको कालखण्डले विश्राम लिएको
भएपनि उनलाई सिक्किमका नेपाली बहुसंख्यकको बलियो आवाजको रूपमा सधैं सम्झिनेछ।
Comments
Post a Comment