समाज भन्नाले भिन्न भिन्न समूहका मानिसहरू एउटै उद्देश्य वा धर्म अँगालेर एकै साथमा बसिने ठाउँ, संस्कारी अनि असल मानिसहरू एकत्रित भई बसेको ठाउँलाई समाज भन्ने गरिएको पाइन्छ। समाजको मूल मेरूदण्ड जातीयतामा आधरित हुन्छ अनि यसको अर्को विशेष तत्त्व समुदायिक स्वरूप हो। समाजमा समुदाय बनिनलाई कुनै जात वा जाति विशेषमा जन्म ग्रहण गर्न आवश्यक पर्दैन। उदाहरण स्वरूप नेपाली भाषा बोल्ने ठाउँमा वा समाजमा कुनै बिहारी, बंगाली, मारवाडीहरूको ‘भाषाभाषी समुदाय’बाट पनि एउटा समाज गठित हुनसक्छ, यस्तो समाज दार्जीलिङ जिल्ला तराई-डुवर्स क्षेत्रमा प्रशस्त पाउन सकिन्छन्।
कुनै पनि समाज निर्माणका संघटक तत्त्वहरूमा समाजमा प्रचलनमा रहेका
पारम्परिक संस्कार-संस्कृतिको महत्वपूर्ण प्रभाव रहेको पाइन्छ। धेरै लामो
कालखण्डसम्म विभिन्न जातिका परिवारहरू एउटै समाजमा बसोबासो गर्दाहुँदी एकार्काको
भाषा, बोली, रितिथिति, संस्कार संस्कृतिको प्रभाव पर्नु स्वभाविक देखिन्छ। यसरी गठन भएको समाजमा
हामी बस्छौँ। मानिस सामाजिक प्राणी हो, त्यसैले उ आफ्नो
परिवारसित समाजमा बस्छ, समाजसित सरोकार राख्छ, समाजको गतिविधि र कार्यकलापमा संलग्न हुन्छ, यो
मानवप्रवृति हो अनि मानव-संस्कार पनि हो।
समाज
भएर मात्र पुग्दैन समाजलाई दिगो र चलायमान राख्न सामाजिक कार्यकर्ताहरूको
आवश्यक्ता पर्दछ जसले समाजलाई अथवा समाजका परिवारहरूलाई सेवा सम्झेर मार्गदर्शन
गर्दछ,
सहयोग पुर्याउँछ। घर-परिवारको सठिक भरण पोषण गरेर उब्रेको समय
समाजलाई दिएर कुनै न कुनै पक्षमा सहयोग पुर्याउने कार्यलाई समाजसेवा भनिन्छ।
दाहिने हातले परोपकार गरेको देब्रे हातले थाहा नपाओस् भन्ने भनाइलाई चरितार्थ
गर्दै सामाजिक कल्याणमा उदार हृदय लिएर निस्वार्थ कर्म गर्ने सामाजिक कार्यकर्ताहरू
पनि समाजमा धेरै हुन्छन्, उनिहरूलाई समाज-सेवक, समाज-सेविका भन्न सकिन्छ। वास्तवमा गाउँ-समाजप्रति समपर्णको भावना राखेर
समाजसेवा गर्नेको कार्यगतिविधि कृतिम विज्ञापन र हो-हल्लाबाट टाड़ै हुन्छ।
'जाति र संस्कृति मोहले होला आफु सत्तरीको दशकमा उक्लीसक्दा पनि सामाजिक कार्यमा युवाहरूलाई पछि राख्न खोज्छन् उनी, उर्जाशील देखिन्छन्'मानव मनमा समाजसेवाको भावना स्रोत कसरी र कहाँबाट प्रार्दुभाव हुँदछ भन्ने विषयमा मनन गर्दा - विशेषतः मानिसको भावनाको स्रोत उसले परिवारबाट प्राप्त गरेको संस्कारमा समाहित भएको हुँदछ। कुनै पनि व्यक्तिमा पाइने संस्कारले उसको पारिवारिक अवस्थालाई परिलक्षित गरिरहेको हुन्छ अनि सोही संस्कारमा आफु पनि दृष्टिगोचर हुँदछन्। वास्तवमा कुनै पनि परिवारको आर्थिक सम्पन्नता र विपन्न्ता उसको सांसारिक परिस्थिति मान्न सकिन्छ भने मानिसमा पाइने सुसंस्कारीपनालाई उसको पारिवारिक सम्पदा मान्न सकिन्छ। यसरी पारिवारिक सुसंस्कार प्राप्त गरेर हाम्रो समाजमा सफल नागरिक भएर, स्वंयको परिणति स्वीकार्दै समाजको कर्मठ कार्यकर्ताको रूपमा दह्रिने, तर समाजबाट ओझल परेकी व्यक्तित्वको शुभनाम हो बिजया ब्लोन।
![]() |
श्रीमती बिजया ब्लोन |
व्यक्तिगत
परिचयः स्वनामधन्य स्वर्गीय बाबा ईन्द्र प्रसाद शर्मा (आई० पी० शर्मा) अनि आमा
स्वर्गीय हेमकुमारी शर्माको धन्य कोखबाट खरसाङ स्थित सन्त मेरिज हिल, जिल्ला
दार्जीलिङमा सन् १९५३ सालको २६ अक्टोबरको दिन श्रीमती बिजया शर्माले जन्म ग्रहण
गरेकी हुन्। परिवारमा जम्मा चार बहिनी दुई भाईका सन्तानमा जेठी छोरी विद्या शर्मा,
माइली बिजया शर्मा, त्यसपछि छोरा एकलव्य शर्मा,
फेरि साँइली छोरी बिपुला शर्मा अनि छोरीमा कान्छी वासुवी शर्मा र
कान्छा छोरा पंकज शर्मा हुन्। बिजया शर्माको प्राथमिक शिक्षा सन्तमेरिज प्राथमिक
पाठशालाबाट आरम्भ भएको हो। वहाँले सन्त जोसेफ उच्चत्तर माध्यमिक पाठशालाबाट कक्षा
नवम उत्तिर्ण गरेर सन्त अल्फन्सस उच्चत्तर माध्यमिक पाठशालाबाट स्कूल फाइनल
उत्तिर्ण गरेका हुन्, यहाँ एउटा उत्सुकता जागरण हुन्छ।
वैवाहिक जीवनः लगन आएपछि कसको के लाग्थ्यो– सत्र वर्षको बसन्त पार गरेर अठार वर्षमा लाग्दा लाग्दै, नवम श्रेणी मात्र उत्तीर्ण गरेर बिजया शर्मा स्वेच्छाले खरसाङ निवासी नवीन चन्द्र तामाङ ब्लोनसित परिणय सुत्रमा बाँधिन पुगिन्। त्यससमयको सामाजिक परिवेशमा शुद्ध ब्राह्मिण परिवारकी कन्या तामाङसित बिहे हुँदा परिवारमा कस्तो स्थिति उत्पन्न भयो होला भनि हामी कल्पना गर्नसक्छौँ। जात-पातको प्रश्न लिएर आजभन्दा पचासवर्ष अघि हाम्रो समाजको विचारधारा निश्चय आजको जस्तो थिएन। त्यस्तो परिस्थितिमा बिजया शर्माले नवीन चन्द्र तामाङसित १० दिसम्बर १९७० मा भागी बिहे गरेकी थिइन्। शर्मा परिवारले केही दिनको रूवाबासी पछि, तर छोरीको रोजाई र इच्छाको सम्मान राख्दै, अन्तर्जातीय विवाहलाई सहृदय स्वीकार गरेका हुन् भन्ने कुराको परिपुष्टी- आगामी केही दिनमा पुस महिना लाग्ने हुनाले छोरी ज्वाँईलाई घरमा बोलाएर समाज पञ्च राखेर टीकाटालो सम्पन्न गरिदिएका घटनाबाट खुलस्त हुँदछ। त्यसताक ब्रिटिश गोर्खा सैन्यमा भर्ना भएर मलाया, हङकङ जानेहरूको समाजमा धेरै मान सम्मान थियो, समाजमा रवाफ थियो, कमाई आमदानी पनि यथेष्ट थियो भन्न सकिन्छ। सबै तरूणीहरूले ब्रिटिश आर्मीका जवानहरूलाई जीवनसाथी पाउने कामना गर्थे। बिजया ब्लोनका पति नवीनचन्द्र तामाङ ब्लोन उसबेला ब्रिटिश आर्मीको १० गोर्खा राइपल्समा कार्यरत् हुनुहुन्थ्यो। टीका-टालो भएपछि बिजया शर्मा अब श्रीमती बिजया ब्लोन बन्न पुगिन् अनि आफ्ना पतिदेवसित हङकङ प्रस्थान् गर्छिन्। हङकङमा उनीहरूका घरमा सन् १९७१ मा लक्ष्मीको रूपमा छोरी सञ्जना तामाङको जन्म हुन्छ अनि सन् १९७३ सालमा छोरा मुनेश चन्द्र तामाङको जन्म हुन्छ।
![]() |
श्रीमती बिजया ब्लोन र लेखिका आशा मुखिया लामा |
श्रीमती
बिजया ब्लोन व्यक्तित्वलाई नियाल्दा – सुन्दर, सुशील हिस्सी परेकी, गोलो मुहार, लामो कद भएकी, मुहारमा सदैव मधुर मुस्कान, मिष्ठभाषी, सँधै साड़ी-चोलीमा सोह्र श्रृङ्गारले
सुसज्जित, दुवै हात रंग-विरंगी फुट्ने चुराले टम्म भरिएको,
उनको साध्वी परिचय। साथी-संगी, संघ-संस्थाका
झुण्डमा बिजया ब्लोनको उपस्थितिले सहृदयतापूर्वक प्राण संचार भएको भान हुन्थ्यो,
त्यो परिवेशलाई जीवन्त तुल्याउने क्षमता राख्ने बिजया ब्लोनको
जीवनमा एउटा अँध्यारो घुम्ती आइपुग्छ। २६ फरवरी २०२० को दिन श्रीमती बिजया ब्लोनका
प्रिय पतिदेवको स्वर्गारोहण हुन्छ। आफ्नो लोग्ने गुमाएपछि वहाँको जीवनमा निस्सारता
छाए झैं हुन्छ, तर सर्वपरिवार, समाज,
बन्धु-बान्धवको माया, स्नेह, ढाढस र अनुपोषणको सहयोगले श्रीमती ब्लोन पुनः सामाजिक संलग्नतामा फर्कन
सफल भएको देखिन्छ। सँधै सुन्दर पहिरनमा देखिने श्रीमती ब्लोनलाई फिका पहिरनमा
देख्दा, देख्नेलाई पनि चित्तै नपरेका अनुभूतिहरू समाज गाउँ
घरमा साझा नभएको होइन।
समयले
बिस्तारै श्रीमती बिजया ब्लोनको मनको घाउ पुरिदिँदैछ, अरूले
देख्दा, अनुमान लाउन मात्र सकिन्छ। जाति र संस्कृति मोहले
होला आफु सत्तरीको दशकमा उक्लीसक्दा पनि सामाजिक कार्यमा युवाहरूलाई पछि राख्न
खोज्छन् उनी, उर्जाशील देखिन्छन्। श्रीमती बिजया ब्लोनमा
पाइने धेरै गुणहरू मध्ये वहाँको समयनिष्ठता (punctuality) सबैभन्दा
अनुकरणीय गुण हो।
सामाजिक संलग्नताः हङकङमा
श्रीमती बिजया ब्लोन गृहिणी र आमा मात्र भएर घरमा बसिनन्, उनले
क्रश रोड किन्डर गार्टनमा साना नानीहरूलाई शिक्षा प्रदान गरिन्। सैनिकका
गृहिणीहरूलाई दिइने सिलाई बुनाई र कुर्सीको प्रशिक्षणको तालिम सम्पन्न गरिन्।
हङकङमा छ वर्ष जति बिताएपछि लोग्नेको ब्रुनईमा सरूवा भयो त्यहाँ पनि श्रीमती बिजया
ब्लोनले ब्रुनई सैनिक अस्पतालमा सहयोगीको रूपमा धेरै वर्ष सेवा प्रदान गरेका
तथ्यहरू वहाँसित भएका प्रमाण-पत्र अनि तस्वीरहरूबाट प्रमाणित हुन्छ। नेपाली संगीत
जगतका सुप्रसिद्ध गायिका श्रीमती दावा ग्याल्मोसित बिजया ब्लोनको भेटघाट, परिचय अनि घनिष्टता ब्रुनईमा नै भएको कुरा जान्न सकिन्छ, त्यो सम्बन्ध आजपर्यन्त यथावत कायम छ। छोरी सञ्जनाले खरसाङको ख्यातिप्राप्त
पाठशाला सन्त हेलेन्सबाट अनि छोरा मुनेस चन्द्रले खरसाङ कै गोथल्स मेमोरियल
पाठशालाबाट आइ सी एस सी उत्तीर्ण गरेका हुन्।
बिजया
ब्लोनका श्रीमान नवीन चन्द्र ब्लोनले ब्रिटिश आर्मीबाट अवकाश ग्रहण गरेर खरसाङ
आएपछि स्थानीय सबै जातीय,
धार्मिक, सामाजिक संघ संस्थाहरूको सदस्यता
ग्रहण गरेर दुवै दम्पती सहयोगको निम्ति अघि आउने गरेको सत्य समाज समक्ष विद्यमान
पाइन्छ। अवकाश पश्चात पनि बिजया र नवीन अवकाश भत्ता (पेन्सन) खाँदै हात बाँधेर
बस्न रूचाएनन् बरू वृहत रूपमा कुखुरा पालन गरि व्यापारधन्धामा लागेर आफ्नो आर्थिक
स्थितिलाई खस्किन नदिएर बरू बलियो बनाउन तत्पर भइरहे। प्रायः बाह्र वर्षसम्म
लगातार यो व्यवसायमा लागेर समाजलाई श्रमको गरिमाको उदाहरण प्रस्तुत गरेपछि छोरा मुनेश
चन्द्रले भारतीय सेनामा कमिशण्ड प्राप्त गरेपछि वहाँहरूले कुखुराको व्यापार बन्द
गरेका हुन्।
श्रीमती
बिजया ब्लोनले खरसाङ नगरपालिका कन्या अनि बाल पाठशालामा चार वर्षसम्म शिक्षिकाको
रूपमा सेवा पुर्याइन्,
तर दुखको कुरा त्यो नियमित हुन सकेन, उसरी नै
खरसाङको पुष्परानी प्राथमिक पाठशालामा कक्षा तीनका विद्यार्थीहरूलाई दुई दई वर्षसम्म
नि:शुल्क शिक्षा प्रदान गरिन्। यसै बखत उनले कालेबुङ बुनियादी शिक्षक प्रशिक्षण
केन्द्रबाट तालिम प्राप्त गरेर उत्तीर्ण भइन्। ईश्वरले जे गर्छन् राम्रोको लागि
गर्छन् भने झैं आफ्नो जीवनमा कतिपय असफलताहरूको सामना गर्न परेतापनि श्रीमती बिजया
ब्लोनलाई सामाजिक कार्य गर्नमा कहिले बाधा भएन, उनि अघि
बढिरहिन्। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन, खरसाङमा
दुवै पतिपत्नी सक्रिय सदस्य भएर कार्यरत् थिए भने आफ्नो प्रिय पति नवीन चन्द्र
ब्लोनको देहावसानपछि सन् २०१८ देखि श्रीमती बिजया ब्लोन कोषाध्यक्षको पदभारमा
निस्वार्थ भावले निरन्तर सेवारत् छिन्। समाजका विभिन्न धार्मिक, सामाजिक, सांस्कृतिक, शैक्षिक
संघ-संस्थाहरू जस्तै– तामाङ बौद्ध संघ, अखिल भारतीय तामाङ बौद्ध संघ, तामाङ बौद्ध गुम्पा,
खरसाङ, तामाङ भाइ सराय सोसाइटी, भारतीय गोर्खा परिसंघ, (आजीवन सदस्य), गोर्खा सांस्कृतिक संस्थानहरूसित संलग्न रहेर यथाशक्ति तन, मन, धन, बचन र कर्मले सहयोग प्रदान गरिरहनु भएका छन्। यी
बाहेक खरसाङमा श्रीमती बिजया ब्लोनका घरको संघारबाट निराश भएर खाली हात फर्कने
कुनै पनि सामाजिक संघ संस्था छैनन्, जस्तो लाग्छ। खरसाङमा
परिआएका संकटका समयहरूमा र प्राकृतिक आपदाहरूमा वहाँले अग्रपंक्तिमा रहेर योगदान
पुर्याउनु भएको दृष्टान्तहरू पाइन्छन् – जसमध्ये खरसाङको भीषण
अग्निकाण्डमा, लायन्स क्लबका आँखा जाँच अनि सचेतना
शिविरहरूमा, समाजसेवी नरमाया सिंह, अलका
डे गुरूमाहरूका कर्मठ सहयोगी बनेर कार्य निष्पादन गर्नुभएको उदाहरणहरू पर्याप्त
पाइन्छन्। सेवाको भावनाले प्रेरित भएर विभिन्न थरिका प्रशिक्षणहरू जस्तै– सिविल डिफेन्स, एन्टी ड्रग्स प्रशिक्षण, आँगनवाडी प्रशिक्षण समेत लिएका श्रीमती बिजया ब्लोनले सबथोक अनुभव गर्नु
भएका छन्।
सन्
१९९४ मा खरसाङमा गोर्खा सांस्कृतिक संस्थानको जन्म भएको हो। आफ्नो जाति र संस्कृति
भनेपछि हुरूक्क हुने श्रीमती बिजया ब्लोनलाई के खोज्छस् कानो आँखो भए झैं सन् १९९६
मा उनले जाति–संस्कृति–अस्तित्वको सूत्रवाक्य लिएर स्वजातीय
संस्कृति संरक्षण र संवर्द्धनमा अघि आएको संस्था गोर्खा सांस्कृतिक संस्थानको
साधारण सदस्यता ग्रहण गरे पश्चात आजीवन सदस्यता ग्रहण गरेकी हुन्। आर्थिक
विपन्नताको चपेटमा गोसांसलाई आफ्नो कार्य संचालन गर्न जब उत्कट आर्थिक संकट आईपर्छ
त्यत्तिखेर सहयोगको हात बढ़ाउनेहरूमा अग्रपंक्तिमा श्रीमती बिजया ब्लोनको नाम
आउँदछ भन्नमा अत्युक्ति हुने छैन। यो कलमकार साक्षी छ, संस्थानको निर्माण कार्यमा
आफ्नो गरगहना बन्धकी राखेर संस्थानको गर्ज टारिदिनुभएको घटनालाई संस्थानले सहजै
कहाँ भुल्नसक्छ र! श्रीमती बिजया ब्लोनले, गोर्खा सांस्कृतिक
संस्थान, खरसाङको एक कर्मठ र समर्पित सदस्यको रूपमा सेवा
पुर्याउँदै सन् २००४ देखि उत्तरदायित्वपूर्ण कोषाध्यक्षको पदभार खुबी सफलतापूर्वक
सन् २०२३ सम्म बहन गरेर वर्तमानमा उपाध्यक्षको पदमा सेवारत् हुनुहुन्छ।
आजको
दिनमा श्रीमती बिजया ब्लोन एक प्रतिष्ठित र सुसम्पन्न परिवारकी आमा हुन्, उनका
छोरा मुनेश चन्द्र तामाङले गोर्खा जातिको नामलाई गौरवान्वित तुल्याउँदै भारतीय
सेनामा उच्च र गरिमामय ब्रिगेडियरको पदमा आसिन छन्। छोरी सञ्जना दिल्ली पब्लिक
स्कूल, सिलगढीमा वरिष्ठ को-अर्डिनेटर अनि शिक्षिकाको रूपमा
गत बीस वर्षदेखि कार्यरत छिन्। हालैमा भारतको शीर्षस्थ नागरिक सम्मान ‘पद्मश्री’ पुरस्कारले अलङ्कृत डा० एकलव्य शर्माका
आदरणीय दिदी हुन् बिजया ब्लोन। यति गौरवशाली परिवार भएका श्रीमती बिजया ब्लोनमा
अहंकार र घमण्ड भन्ने किञ्चित देखा पर्दैन। परिआएको खण्डमा सबैलाई सेवा पुर्याउँदै,
सामाजिक कार्यहरूमा सहयोगको हात बढाउँदै, संघ,
संस्थालाई प्रेरणा र प्रोत्साहन दिँदै, विपन्न
परिवारमा जन्मेका नवजात शिशुहरूलाई स्वेटर, टोपी, मोजा प्रदान गर्दै, मौन निरन्तर पाइला चालिरहने
बिजया ब्लोनमा परोपकारिताको भण्डार पाउन सकिन्छ। पाएपछि भुल्छौँ हामी, नदेखेपछि त भुसिक्कै बिर्सिन्छौँ– यसो हुँदा सामाजिक
कार्यकर्ताहरू विस्मृतिका तुँवालोभित्र पर्ने आशंका रहन्छ। यसरी समाजको
पूर्वपीठिकामा रहेर निरन्तर सामाजिक कार्यकलापमा तन,मन,धन,बचन र कर्मले समर्पित व्यक्तित्व श्रीमती बिजया
ब्लोनलाई मनको अन्तर्तहबाट अभिनन्दन व्यक्त गर्दछु। यो कलमकारले बिजया ब्लोनलाई
आफ्नो आदर्श र प्रेरणाको स्रोत मान्दछु। वहाँको अथक समाजसेवालाई हार्दिक नमन गर्दै
समाजमा देखा पर्ने यस्तै विस्मृतिका तुँवालोहरूको उन्मूलन हेतु यो लेख हाम्रा
समाजका पर्दा पछाड़ि बसेर, बिजया ब्लोन जस्तै मौनधारण गरि
निरन्तर समाजसेवामा समर्पित साँचो समाजसेवक, समाजसेविकाहरूमा
सश्रद्धा समर्पण गर्न चाहन्छु।
सर्वे भवन्तु सुखिनः
बुद्ध पूर्णिमा- २३ मई २०२४
(लेखिका गोर्खा सांस्कृतिक
संस्थान, खरसाङकी अध्यक्ष हुनुहुन्छ)
अत्ति नै रोचक लेखले विजय दिदी भन्छु म त उहाँको जीवन कहानी पढ्न पाउँदा धेरै नै खुशी पनि लाग्यो, साथै ऊर्जा पनि आयो । धेरै थोक विजय दिदीको जीवन कथाका जानकारी पनि प्राप्त भयो, यस्तै लेख पढ्न पाउ म आशा मुखिया दिदीलाई पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु यस्त लेख लेख्ने कलम कहिले बन्द नहोस् ।(भाई राज तामाङ )
ReplyDelete