गजबका सूर्यमणि: संस्कृति संरक्षण गर्न घरैमा बनाए संग्राहलय

सञ्जय प्रधान- 

‘रक रक एनी बडी रक, सासु भन्छे बुहारी...सिङमाङमा राखेको कसले खायो घीऊ...’ बच्चा  बेलामा निक्कै सुनेको यो गीत सूर्यमणि प्रधानको ‘सुसीता संग्रहालय’मा सिङमाङ देख्दा झल्झल्ती सम्झना आयोl केही काम विशेषले दार्जीलिङको हरिदास हट्टा स्थित उनको घरमा गएको थिएँl केही सामाजिक, प्रतिष्ठित व्यक्तिहरूका बारेमा कुरा हुँदाहुँदै  सुर्यमणि प्रधानले भने, ‘अहिले माथिल्लो तलामा म तपाईंलाई केही देखाउँछु हैl’ उनले यति भने पछि मेरो सबै ध्यान माथिल्लो तलामा नै केन्द्रित हुन थाल्योl माथिल्लो तलामा के रहेछ भन्ने बारेमा मभित्र कौतुहल जाग्न थाल्यो, अनि मन भित्र छटपटी  हुन थाल्योl केही बेरमै उनले मलाई माथिल्लो तलामा लगेl

माथिल्लो तलाको छतमा छुट्टै रुपमा राम्रो गुणस्तरको छानाले बनाइएका घरको मूल दैलोमा लेखिएको  ‘सुसीता संग्राहलय’ देख्दा अलिक उदेक लाग्यो ‘घरमा संग्राहलय?’ मनमा प्रश्न उप्ज्योl भित्र पसेर हेर्दा चकित परेl कारण त्यहाँ सिङ्गो नेपाली संसार देखेl मेरो आँखा सिङमाङमा पर्दा उही गीत ‘सिङमाङमा राखेको कसले खायो घीऊ...’ कानमा गुन्जिन थाल्योl संग्राहलयको वरिपरि आँखा डुलाउँदा एक क्षण आँखा तिर्मिरायोl नेपाली जनजीवनसित जोडिएका धेरै सामग्रीहरू र औजारहरू हिजोआज प्राय: देखिँदैनन्, जसलाई अहिले आधुनिक तकनिकीको युगमा बिर्सिंदै गइसकेका छन्l नेपालीको पौरख, उद्यम र जनजीवनलाई दर्शाउने यस्ता सामग्रीहरू समाज विकसित बन्दै जाँदा प्रयोगमा आउन छोडे पछि प्राय: हराउँदै गइसकेका छन्l हिजोआज गाउँ-बस्तीमा पनि उहिलेका औजारहरू प्राय: देखिन छाडेका छन्l

सुर्यमणि प्रधानलाई संस्कृति संरक्षणका लागि उर्जा र हौसला प्रदान गर्ने उनका श्रीमती सुमित्रा प्रधानl
उहिलेका जमानामा नेपाली दैनिक जनजीवनमा प्रयोग हुने विभिन्न सामग्री, औजारहरू यस संग्राहलयमा सुर्यमणि प्रधानले संग्रह गरेर राखेका छन्l यस बाहेक नेपाली बाजाहरू पनि संग्रह गरेका छन्l आफ्नो घरमा संग्राहलय बनाउनु भनेको साधारण कुरा होइन अनि जो सुकैले यस्तो कार्य गर्न पनि सक्दैनन्l पेशाले उनी दार्जीलिङको सन्त पल्स स्कूलमा नेपाली विषयका शिक्षक थिएl आखिर किन उनलाई यस्तो संग्राहलय बनाउने उदेकको चाहना भयो? स्वभावले उनी अति नै नम्र, मृदुभाषी, सरल छन्, तर उनी भित्र एउटा उदेक लाग्दो गजबकै चाहना छl त्यो हो आफ्नो संस्कृति, परम्परा, अनि आफ्नो जातीय जनजीवनसित जोडिएका सामग्री, औजार र बाजाहरू बारे आउँदो पिढीमा जीवित राख्ने उनको अदम्य चाहना छl उमेरको हिसाबले अस्सी वर्ष पुगे पनि उनीसित जातीय संस्कृति संरक्षण गर्ने बेजोडको उर्जा छl आफ्नो जीवनको आधा भन्दा बढी कमाई उनले संस्कृतिको संरक्षणमा खर्चिएका छन्l आफ्नो कमाई यस किसिमले खर्चिने प्राय: विरलै नै हुन्छन्l उनलाई यस कार्यमा उनका श्रीमती सुमित्रा प्रधानले धेरै सहयोग, उर्जा र हौसला प्रदान गरेकी छिन्l


सानैदेखि आफ्नो संस्कृतिप्रति चासो राख्ने सूर्यमणि प्रधान दार्जीलिङ भेकका एक जना प्रतिष्ठित लेखक हुन्l उनी भन्छन्, ‘हाम्रो दैनिक जनजीवनसित जोडिएका सामग्री, औजारहरू हराउँदै गएको देख्दा यी सबैको जगेरा गर्नुपर्छ भन्ने विचार गरेंl’ सबै सामग्री र औजारहरूको नाम आफूलाई सानैदेखि थाहा भएको उनी बताउँछन्l उनको संग्राहलयमा खेतीपातीमा प्रयोग गरिने औजारहरू, भान्साघरका सामाग्रीहरू, गरगहनाहरू, लोक बाजाहरू जस्ता धेरै सामग्रीहरू उनले संग्रह गरेका छन्l उहिले घीऊ सिङमाङमा राखिन्थ्यो, तर हिजोआज सिङमाङ हराइसकेको छ, नाम पनि सुनिँदैनl सिङमाङको बदली प्लास्टिकको बोतल, स्टीलको भाँडामा घीऊ राखिन्छl हिजोआज भान्साघरबाट हराउँदै गएका भाँडाकुडाहरू संग्रह गरेर राखेका छन्l दुध दुहुँदा प्रयोग गरिने गबुआ प्राय: विलुप्त भइसकेका छन्l घुयेत्रो हिजोआज देख्न छोडेको छl उहिलेका कथाहरू पढ्दा लडाईमा पनि घुयेत्रो प्रयोग भएको थाहा लाग्छl उहिले हिउँदको मौसममा शरीर तातिन्छ भनेर कुखुराको प्वाँखको चुङ्गी बनाएर खेल्ने  चलन  थियो, तर यो पनि समयको बहावमा बगेर हराएको छl 

हिउँदको कठ्याङ्ग्रिने जाडोमा साँझको बेला घरको सानो आँगनमा अङ्गेटीमा आगो ताप्दै घर-परिवार साथै छिमेकी सँगै वरिपरि बसेर दु:खसुखका कुरा गरिन्थ्यो, रमाइन्थ्योl तर, हिजोआज ब्लोवर, रुम हिटरले अङ्गेटीको जग्गा ओगटे पछि कोठामा एक्लै अभिन्न साथी मोबाइलसित बिताइन्छl यी सबै त नेपाली जनजीवनबाट विलोपन भए जत्तिकै छl यी सबैलाई सुसीता संग्राहलयमा संरक्षण गरिएको छl आफ्नो बितेको समयलाई स्मरण गर्ने र यसबारेमा जान्नक लागि यस संग्राहलयमा हेर्न सकिन्छl गुन्द्री, माद्री, सुकुल, राडी, लुगाको जुत्ता, परालको जुत्ता, ढुङ्गाको चनौटो, ढुङ्गाको जाँतो, ढुङ्गाको औषधी पिस्ने जाँतो, हर्पे, मकै भुट्ने होर्ल्यांङ्गे यस्ता थुप्रै नेपाली जनजीवनलाई दर्शाउने सामग्रीहरू सूर्यमणि प्रधानले संरक्षण गरेर राखेका छन्l प्रत्येकमा उनले नाम लेखेर टाँसेका छन्l गोरु गाडी र काठको हाते गाडी (गोर्खे जीप चल्ती नाम)को दार्जीलिङ पहाडी भेकमा छुट्टै विशेष गाथा छl यसलाई आधार बनाएर धेरै कथा, कविता लेखिएका छन्l हिजोआज यस भेकमा गोरु गाडी पनि देखिँदैन, गोर्खे जीप पनि देखिँदैनl गोरु गाडी र गोर्खे जीपको काठको मोडल बनाएर संग्राहलयमा राखेका छन्l धान, चिउरा कुट्ने ढिकी पनि काठकै मोडल बनाएर राखेका छन्l यी सबै उनले आउँदो पिडीलाई सम्झाउन, बुझाउन राखेका छन्l   

भित्तामा टाँगिएको शोकेसमा नेपाली गरगहनाहरूको सेट खुबै राम्रो देखिने गरी राखेका छन्l यस्तै नेपाली लोक संस्कृतिको जल्दोबल्दो प्रतीक नौमती बाजा, यलम्ब बाजा (बाँसको मादल पनि भनिन्छ), चरी बाजा, बिनायो, सारंगी, पूर्वेली मादल, नेवारी मादल अन्य धेरै छन्l यसबाहेक विभिन्न देशका रुपियाँ, सिक्काहरू पनि संग्रह गरेका छन्l यस संग्रहालयमा उनले प्रथम अनि दोस्रो विश्व युद्धमा भिक्टोरिया क्रसद्वारा सम्मानित हुने नेपाली योद्धाहरूको तस्वीरहरू पनि सबै संग्रह गरेर राखेका छन्lयी सबै जोगाड गर्न उनलाई ४५ वर्ष लागेको छl संग्राहलय बनाएको करिब आठ वर्ष भए पनि अहिले यसलाई उति बढी प्रचारमा ल्याएका छैनन्l 

संग्रहालयका लागि उनले यी सबै सामग्रीहरू सिक्किमको जोरथाङको मेलादेखि नेपालका विभिन्न ठाउँबाट किनेर बटुलेका हुन्l अझ पनि उनी धेरै ठाउँमा गएर हराउँदै गएका सामग्रीहरू खोजी गर्नमा व्यस्त छन्l यस्ता सामाग्रीहरू संग्रह गर्ने व्यक्ति मात्र होइनन् सूर्यमणि प्रधान, उनी यसका एकजना राम्रो स्रोत व्यक्ति पनि हुन्l गत वर्ष २०२३ मा डा. दिवाकर प्रधानको निमन्त्रणामा  बनारस हिन्दू विश्वविद्यालयमा पुगेका थिएl त्यहाँ उनलाई सम्मान जनाइएको थियो भने, नेपाली जनजीवनसित सम्बन्धित सामग्रीहरू बारेमा वार्ता पनि उनले प्रस्तुत गरेका थिएl उनले स्थापित गरेका सुसीता संग्राहलय मात्र होइन एउटा शोधकेन्द्रकै रुपमा खडा भएको छl यसमा अब  बाँकी रहेको भनेको व्यापक प्रचार कार्य रहेको छl यस संग्राहालयलाई अझ बृहत आकार दिने अभियान लिएर हिडिरहेका छन्l

Comments

Popular posts from this blog