चिया कविता पुरस्कार २०२४ घोषणा, श्रीमती प्रभा राईलाई विश्व चिया दिवसको दिन प्रदान गरिने
गान्तोक: चिया कविता, सिक्किमले
प्रत्येक वर्ष विश्व चिया दिवसको अवसर पारेर साहित्यिक क्षेत्रमा योगदान दिँदै
आएका एकजना व्यक्तित्वलाई चिया कविता पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो भने
प्रथम चिया कविता पुरस्कारले डुप छिरिङ लेप्चालाई पुरस्कृत गरेको थियो। यस वर्ष
पनि यसै परम्परालाई निरन्तरता दिँदै आसाङथाङ नाम्ची निवासी प्रभा राईलाई चिया
कविता पुरस्कार २०२४ ले पुरस्कृत गर्ने निर्णय गरेको छ। सोमबार गान्तोकमा बसेको
चिया कविता समुहका कार्यकारी सदस्यहरूको बैठकले उक्त निर्णय लिएको हो। प्रभा राईले
पछिल्लो लामो समयदेखि आफ्नो गाउँमा बसेर साहित्यिक क्षेत्र, शैक्षिक
क्षेत्र र पठन संस्कृतिको विकासका लागि योगदान दिँदै आएकी छन्। नाम्चीको आसाङथाङको
दुमी गाउँका बालबालिका साथै आम पाठकहरूका लागि उनले आफ्नो व्यक्तिगत प्रयासमा
आफ्नै गाउँमा पुस्तकालय निर्माण गरेर पठन संस्कृतिको विकासका लागि काम गर्दै आएकी
छन्। डीजी रिडिङ रूम रिसोर्स एण्ड एडुकेशन फाउन्डेशन सन् २०१९ देखि गठन गरेर
सिक्किममा पठन संस्कृति, भाषा-साहित्य, कला र लोक परम्पराको विकासमा कार्य गरिरहेकी छन्। उनले लामो समयदेखि सोध
लेखन, संपादन र अनुवादका कार्यहरू पनि गरिरहेका छन्। अहिले
भने उनले जुबान प्रकाशन मार्फत पूर्वोत्तर भारतका महिला सर्जकहरूको लेखनलाई
प्रकाशनको निम्ति कार्य गरिरहेकी छन्।
श्रीमती राईले यसका साथै सिक्किम प्रोजेक्ट नामक वेबसाइट शुरु गरेर त्यसको
माध्यमबाट सिक्किमसँग सम्बन्धित विभिन्न विषयमा विभिन्न लेखकहरूको अनुसन्धानात्मक
लेखहरू प्रकाशित गराउने काममा पनि उनको महत्त्वपूर्ण भूमिका रहेको छ। आफ्नो
व्यक्तिगत प्रयासद्वारा सिक्किममा पठन संस्कृतिको विकासका लागि उनले पुर्याएको
योगदानलाई मूल्यांकन र सम्मान जनाउँदै चिया कविता समुहले वर्ष २०२४ को चिया कविता
पुरस्कारले सम्मान जनाउने निर्णय लिएको हो। आउँदो २१ मईको दिन एउटा कार्यक्रम
आयोजना गरेर उनलाई पुरस्कृत गरिनेछ। २१ मईलाई विश्व चिया दिवस रूपमा मनाइने
गरिन्छ। सोमबार गान्तोकमा बसेको बैठकले उक्त कार्यक्रमको सामान्य रुपरेखा पनि तयार
गरेको छ भने कार्यक्रममा विभिन्न साहित्यिक प्रस्तुतिहरू पनि समावेश गरिनेछ भनि
चिया कविता, सिक्किमको पक्षमा प्रवीण खालिङले जारी गरेको
प्रेस बयानमा उल्लेख गरिएको छ।
Comments
Post a Comment