पाठ्य पुस्तक अधिकारीहरूको अध्ययन भ्रमण

सिक्किम अकादमीका अध्यक्ष लिम्बु एस आर खजुम अभिनन्दित 

गान्तोक: सिक्किम सरकारको शिक्षा विभागको भाषा निदेशालयले रैथाने भाषाका पुस्तक अधिकारी र कर्मचारीहरूलाई पाठ्य पुस्तक सम्बन्धित वार्षिक अध्ययन भ्रमण गराएको छ। दक्षिण सिक्किमको नाम्ची जिल्लाको आसाङथाङ दुमी गाउँमा रहेको डीजे रिडिङ रूम, रिसर्च एण्ड एडुकेशन फाउन्डेशनको भ्रमणको अवधीमा आयोजित विशेष कार्यक्रममा सिक्किम अकादमीका अध्यक्ष तथा भाषा साहित्य सेवी लिम्बू एसआर खजुमलाई शिक्षा विभागले उनको योगदानलाई कदर गर्दै अभिन्दन गरियो। 

पाठ्य पुस्तक निदेशालयका निदेशक सोनाम लेप्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अवधीमा रिडिङ रूमका संस्थापक श्रीमती प्रभा राईले फाउन्डेशन गठन गरेर भाषा, साहित्य र पुस्तक पठन पाठनको निम्ति निर्धारित लक्ष्यबारे अवगत गराइन्। उनले वर्तमान अवस्थामा पठन संस्कृति सिर्जनशील कलाको दिशामा लुप्त हुँदै गएको युवा चासोहरूको बारेमा आफ्नो अनुभव र फाउन्डेशनले दिने योगदानबारे बताइन्। आफूले कर्तव्य मात्र निर्वाह गरिरहेको तथा त्यसलाई शिक्षा विभागले अभिनन्दन गरेर गुण लगाएको बताउँदै सम्मानित व्यक्तित्व लिम्बू एसआर खजुमले सिक्किमका रैथाने भाषाहरूको विकास र संस्कृति परम्परालाई जोगाउने दिशामा निरन्तर कार्य गरिरहने प्रतिबद्धता जाहेर गरे। नेपाली भाषा संग्रामी पनि रहेका अध्यक्ष खजुमले भाषा मान्यता पछि हुनुपर्ने कार्यहरूमा देखिएको ढिलाइ सुस्तीपनलाई पनि आफ्नो सम्बोधनमा राख्दै अकादमीको तर्फबाट गर्न सकिने कार्यहरू गरेर एउटा टुङ्गोसम्म पुऱ्याउने सतप्रयासमा लागेको पनि बताए। आफ्नो क्षमताले भ्याएको जति अकादमीले कार्य गर्ने प्रतिश्रुती पनि दिए। उनले भने भाषा छ र नै बाँच्ने आशा छ, हामी भाषा बचाऊ र आफै पनि बाँचौ भन्दै शिक्षा विभागको भाषा शाखा र अकादमी दिदी बहिनी हो र सह कार्य गर्नु पर्छ भनि बताए।

यसैगरि अध्यक्षीय सम्बोध राख्दै निर्देशक सोनाम लेप्चाले भाषा शाखाले विभिन्न प्रशिक्षण गर्न सक्षम भएको अनि सिक्किम अकादमीको सहयोगमा मातृ भाषालाई विकासमा महत्वपूर्ण योगदान भएको बताए। सिक्किमको चौधवटा भाषालाई पाठ्य पुस्तकको विकासमा कार्य गरिरहेका अधिकारीहरूले अझ धेरै कार्य गरेर व्यावहारिक रूपमा गर्नुपर्ने तथा सबै पाठशालामा रिडिङ कर्नरलाई सशक्त बनाउनु पर्ने सुझाउ राखे। रिडिङ रूमले अहिले सातवटा पाठशालालाई काख लिएको जानकारी रहेको बताउँदै अन्य पाठशालाहरूमा पनि पठन पाठनको संस्कृतिलाई विकास गर्नुपर्ने बताए। शिक्षा विभागकी उप निर्देशक सुधा एम राईले स्वागत सम्बोधन राख्दै यसरी पाठ्य पुस्तक अधिकारीहरूलाई लिएर अध्ययन भ्रमण आयोजन गरेर पुस्तक निर्माण र नीति निर्धारणमा लाभ पुऱ्याउने प्रयास गरेको बताइन्। भाषा साहित्य र समाजलाई संस्कारी बनाउन तीन चुल्हा जस्तो तीन संस्थानको मेल रहेको बताए। सिक्किम अकादमीको भाषा शाखाले धेरै कार्य गर्न सफल भएको अवगत गराए।

कार्यक्रमलाई भीम तामाङ टीबीओ तामाङले सञ्चालन गरेका थिए। यस अवसरमा कार्यक्रममा रोचकता प्रदान गर्न गुरुङ भाषाका टिबीओ रूपराज गुरुङले नेपाली गीत सुनाए भने उनलाई वाद्यवादनमा मंगर भाषाका एटीबीओ सुरेन थापाले साथ दिएका थिए। कार्यक्रममा मिनी शर्मा सिनियर टिबीओ नेपालीले अभिनन्दन पठन गरिन्। सिक्किम अकादमीका महासचिव पूर्ण योञ्जन, नाम्चीका साहित्यका थिरू प्रसाद नेपालको उपस्थितिमा सम्पन्न कार्यक्रमको बिट मार्ने कार्य सिनियर टिबिओ हिस्से रिञ्जिङ भोटियाले बौद्ध प्रार्थनाको साथमा गरेको थिए भने शिक्षा विभागका भाषा शाखा र पाठ्यपुस्तक निर्देशालयका कर्मचारी, रिडिङ रूमका कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अधिकारीहरूले पाठ्य पुस्तक, बाल साहित्य, पठन पाठन संस्कृति र पुस्ताकालयको राखन धारणबारे अन्तर्क्रिया गर्दै विभिन्न लाभकारी जानकारी लिए।

Comments

Popular posts from this blog