‘मिसिङ: केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)
काठमाडौं: पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘मिसिङ: केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ। ‘हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतबार आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो। गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ। शब्द तथा संगीत दीपेन्द्र गौचनको छ। गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा भन्छ। जिन्दगीको यात्राका क्रममा भेटिएका युवा–युवतीलाई जिन्दगीको गन्तव्य नै निश्चित नरहेको भावमा गीत लेखिएको छ। सपनामा देखेजस्तो हो कि विपनामा देखेको अभाव नै जिन्दगी हो भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी प्रश्नै प्रश्नले भरिएको छ भन्ने बताउँछ।
जिन्दगीको उत्तरार्धमा आइपुग्दा पनि यथार्थमा जिन्दगी के हो भन्ने थाहा नहुने गरेको भन्दै बीचमा आउने दुःख, हाँसो, घाम र छाया, मिलन तथा बिछोड किन भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी आफैँमा एक आश्चर्य हो भन्ने बताउन खोजेको छ। गीतका यिनै भाव बोल्ने भिडियोमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन्। दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुशी भिडियोमा देखिन्छ। नेपालका तराई क्षेत्रमा भिडियो छायांकन भएको भिडियोले पुष्टि गर्छ। चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ आउँदो १५ नोभेम्बर (कात्तिक ३० गते)बाट प्रदर्शनमा आउँदैछ। चलचित्रको संबादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ। टिजरले अभिनेता नाजिर र अभिनेत्री सृष्टिबीचको प्रेमलाई दर्शाएको थियो। गीतले पनि यी दुईको प्रेमलाई देखाएको छ। गीतले धोका र बदलाको कथामा सिनेमा निर्माण भएको संकेत गरेको छ।
यो
चलचित्रको निर्देशन करिब ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका छन्।
निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन्। उनी
स्वयं निर्माता रहेको सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना
रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ। नेपालकै ठूलो
मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा
रहेका छन्।
Comments
Post a Comment