अवकाश प्राप्त निर्देशक सोनाम लेप्चालाई विदाई

अबको जीवन समाज-जातिमा शिक्षा र राजनैतिक चेतनाको विकास गरेर  बिताउनेछुः सोनाम लेप्चा

गान्तोक: सिक्किम सरकारको शिक्षा विभागको भाषा तता पाठ्य पुस्तक निर्देशकको पदबाट अवकाश लिएका सोनाम लेप्चालाई उनको पुर्खेउली माटो जङ्गुले सम्झना गर्दै पासिङदाङ खण्ड प्रशासन केन्द्रमा भव्य विदाई कार्यक्रम आयोजन गऱ्यो। उनले विशेष रूपमा उत्तर सिक्किममा शिक्षाको विकासमा पुऱ्याएको योगदानको मुग्धकण्ठले प्रशंसा गर्दै जङ्गुका शिक्षा विभागका परिवारले सम्मान जनाएर भविष्यमा पनि उनको दिशा निर्देश र आर्शिवादको आशा साचेका छन्।

 शिक्षा विभागका उपनिर्देशक टीएन लेप्चाको नेतृत्वमा शिक्षा विभाग अधिनस्थ विभिन्न सरकारी पाठशालाका प्रधानाचार्य, शिक्षक, शिक्षिका र विद्यार्थीहरूको बाक्लो उपस्थितिमा मुख्य अतिथिको रूपमा उपस्थित पूर्वनिर्देशक सोनाम लेप्चाले अबको जीवन गाउँ समाज जातिमा शिक्षा र राजनैतिक चेतनाको विकास गरेर  बिताउने बताए। उनले आफ्नो सम्बोधनमा आफ्ना समुदायको निम्ति सोच्नु जातिवादी नहुने बताउँदै सबैले आफ्नो जातिको शिक्षा र राजनैतिक चेतनाको निम्ति सोचेर कार्य गर्नु पर्ने आह्वान गरे। उनले आफ्नो कार्यकालका अनुभवहरू साझा गर्दै जङ्गुमा स्थापित छात्रा आवास र अन्य पूर्वाधारहरू समाजको निम्ति धरोहर रहेको बताउँदै यस्ता कुराहरूले जातिको उत्थान र विकास हुने भएको हुनाले सबैले यसदिशामा सङ्कल्पित भएर कार्य गर्ने आह्वान गरे।

गत ३० अप्रेलको दिन अवकाश प्राप्त गरेका निर्देशक लेप्चाले गरेको शिक्षा र पूर्वाधार विकासको बयान गरेर नसकिने इतिहास रहेको बताउँदै उपनिर्देशक टीएन लेप्चाले उनको अघिको जीवन सुस्वस्थ्य रहोस् भन्ने कामना गरे। यसैगरि प्रधान अध्यापक श्रीमती जेजे लेप्चा, मिङ्मा शेर्पा र अन्यले पनि आफ्नो सम्बोधनमा पूर्वनिर्देशक लेप्चाको योगदान र अभिभावकत्वमा नै आज जङ्गु र उत्तर सिक्किमले शिक्षाको हरेक क्षेत्रमा उन्नति गरेको बताए।  समारोहमा नामग्याल लेप्चा, मिका लेप्चा, पासिङदाङका डुप्डेन लेप्चा, लिङ्ज्या (पूर्व जिला)का काछो लेप्चा छिरिङ ग्याछो लेप्चा"मिलेट म्यान" लगायत जङ्गुका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, बौद्ध शिक्षक र धेरै प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा  सोनाम छोडा लेप्चा मेमोरियल सेकेण्डरी स्कूल र पासिङदाङ माध्यमिक विद्यालयका विद्यार्थीहरुले रङ्गार सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने स्थानीय लोक कलाकारहरूले लोक वाद्यवादन र समुहगान प्रस्तुत गरेका थिए।

Comments

Popular posts from this blog