संगीतकार दीप वाइबा सञ्जीवनी परिवारद्वारा सम्मानित

दार्जीलिङ: कलाकार वर्ग, सञ्जीवनी नाट्य अनि संगीत समूह दार्जीलिङको आयोजनामा वरिष्ठ कलाकारहरूमा गृह सम्मानद्वारा सम्मानित गर्ने कार्य आरम्भ भइसकेको छ। यसै क्रममा सञ्जीवनी परिवारले आफ्नो स्थापना कालदेखि नै विभिन्न क्षेत्रका वरिष्ठ कलाकारहरूमा सम्मान जनाउँदै आइरहेको छ। यसै क्रममा सर्वप्रथम दार्जीलिङका वरिष्ठ अभिनेत्री बिमला सुब्बा, वरिष्ठ नाटककार अभिनय कलाकारगीतकार पी. अर्जुन, वरिष्ठ संगीतज्ञ मणिकमल क्षेत्री आदिलाई सञ्जीवनी परिवारले सम्मान जनाइसकेको छl यसै सन्दर्भमा बिहीबार (२३ मई) कलाकारवर्ग सञ्जीवनी नाट्य अनि संगीत समूह दार्जीलिङको आयोजनामा दार्जीलिङकै वरिष्ठ संगीतकार दीप वाइबालाई गृह सम्मानद्वारा सम्मानित गरिएको छ। उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व दीप वाइबा साथै उनका धर्मपत्नी सुषमा वाइबा अनि परिवारको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो।

पत्रकार सविता संकल्पद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा आयोजक समितिको पक्षबाट मेनुका प्रधान, मरियमित लेप्चा,  कमला लेप्चा, शान्ता गुरुङ, डेजी बराइली, चन्दन लम्जेल, निरकुमार बम्जनको उपस्थितिमा कार्यक्रमको आरम्भ गरियो। आरम्भमा मेनुका प्रधानद्वारा आयोजक समितिको परिचयलाई प्रकाश पारेपछि कमला लेप्चाद्वारा सम्मानपत्र पठन गरेपछि मेनुका प्रधान अनि मरियममित लेप्चाको बाहुलीबाट उक्त सम्मानपत्र प्रदान गरियो। यसैगरी मेनुका प्रधानद्वारा टोकन अफ लभ साथै स्मृति चिन्ह पठन गरिएपछि निरकुमार बम्जन अनि चन्दन लम्जेलको बाहुलीबाट उक्त स्मृति चिन्ह प्रदान गरियो। आयोजकको पक्षबाट सम्मानित दीप वाइबा उनकी आमा साथै श्रीमती सुषमा वाइबाप्रति श्रद्धापर्ण जनाइयो। सम्मान कार्यक्रमपछि संगीतकार चन्दन लम्जेलले संगीतकार दीप वाइबा माथि आफ्नो सारगर्भित मन्तव्य राख्दै उनले कालान्तरमा गरेका सांगीतिक गतिविधिको विषयबारे चर्चा गर्दै उनको योगदानबारे चर्चा परिचर्चा गरे। मन्तव्यकै क्रममा मरियमित लेप्चाले उनका श्रीमान तथा संगीतकार, सर्जक, बाध्यवादक मनबहादुर राईले संगीतकार दीप वाइबा लगायत अन्य कलाकारहरूको साथमा १९८६ को आन्दोलन कालमा गरिएका अविस्मरणीय क्षणहरुबारे बताए। यसको साथै उनले अन्य विभिन्न सांगीतिक विषयहरू बारे सबैलाई बताए। संगीतकार दीप वाइबाका सांगीतिक जीवनको आरम्भदेखि आजपर्यन्तका गीतहरूबारे चर्चा गर्दै उनकै संगीतमा आधारित गीतहरुलाई चन्दन लम्जेल अनि डेजी बराइलीको साथमा उपस्थित सम्पूर्ण समूहले गीतहरू प्रस्तुत गरे। कार्यक्रमको अन्तिम चरणमा दीप वाइबाका धर्मपत्नी सुषमा वाइबाले सबैप्रति आभात व्यक्त गर्दै दीप वाइबाका सांगीतिक जीवनको विषयबारे संक्षेपमा मन्तव्य राख्दै धन्यवाद गरेपछि कार्यक्रमको समापन गरियो।   


Comments

Popular posts from this blog