नयाँ पुस्ताका प्रगतिशील पत्रकार हनोक थापा  देवर्षी नारद सम्मानद्वारा सम्मानित

खरसाङ: नयाँ पुस्ताका प्रगतिशील पत्रकार हनोक थापा आज देवर्षी नारद सम्मानद्वारा सम्मानित भएका छन्l विश्व संवाद मंच खरसाङद्वारा आयोजित देवर्षी नारदको जन्म जयन्तीको अवसरमा गोर्खा जन पुस्तकालयमा आयोजित भव्य समारोहमा उनलाई सम्मान गरिएको होl आज सम्मान समारोहको कार्यक्रम खरसाङका सुपरिचित समाज सेवक टी टी लामाको अध्यक्षतामा  भएको थियो भने आकाशवाणी खरसाङ केन्द्रका कार्यक्रम प्रमुख पारसचन्द्र आले  मुख्य अतिथिका रुपमा उपस्थित थिएl आकाशवाणी खरसाङका समाचार वाचकद्वय तथा सुपरिचित उद्घोषक विश्व सुब्बा र सबिता छेत्रीद्वारा संचालित कार्यक्रममा आरएसएस उत्तर बंगालका प्रभारी समीर घोष, प० केशव मिश्र  तीनधारे उच्चतर माध्यमिक विद्यालयका पूर्वशिक्षक टिकादत्त गिरी, राजु शर्मा विशिष्ट अतिथिका रुपमा उपस्थित थिएl कृपा मिश्र अनि समूहद्वारा प्रस्तुत गरिएको सरस्वती वन्दनाबाट कार्यक्रम शुभारम्भ गरियोl बालिका अर्नवी चौरसियाले देवर्षी नारदको पाठबाट आवृत्ति प्रस्तुत गरिन्l   

कार्यक्रमका अध्यक्ष टी टी लामा, मुख्य अतिथि पारसचन्द्र आले, प० केशव मिश्र, समीर घोषद्वारा हनोक थापालाई स्मृति चिन्ह, सम्मान पत्र प्रदान गरेर शल ओढाएर सम्मान जनाइयोl खरसाङदेखि करिब १२ किलोमिटर टाडो शिवटार निवासी हनोक थापा सन् २०१२ देखि हिमालय दर्पण समाचारपत्रबाट पत्रकारिताको क्षेत्रमा प्रवेश गरेका हुन्l उनले पत्रकारिता शुरु गर्दा अहिलेको जस्तो बाटोको सुविधा नहुँदा महानदीसम्म करिब पाँच किलोमिटर हिडेर आउँथे अनि त्यहाँबाट खरसाङको कार्यालयमा गाडीमा आउँथेl राति पनि त्यसरी नै फर्किन्थेl पत्रकारिताको संघर्षमय यात्रामा यसरी उनले एक दशक पार गरिसकेका छन्l उनी प्रिन्ट मिडियामा मात्र नभएर गएको चार पाँच वर्षदेखि इलेक्ट्रोनिक मिडियामा पनि सक्रिय छन्l उनी आकाशवाणी खरसाङका समाचार वाचक हुन् भने नमस्ते खरसाङको समाचार च्यानल एनके समाचारका पनि समाचार वाचक हुन्l पत्रकारितामा हनोक थापा जति सक्रिय छन् उतिकै नेपाली साहित्यको क्षेत्रमा पनि सक्रिय छन्l सन् २०१६ मा ‘अक्षर मोन्टास्’ कविता संग्रहको पुस्तक नेपाली संसारलाई उपहार स्वरूप दिइसकेका छन्l यसका साथै उनले नेपाली संसारका सुपरिचित साहित्यकार स्व० एडोन रोङ्गोङको बारेमा लेखिएको ‘एडोन रोङ्गोङ स्मृति ग्रन्थ’को सम्पादन गरेका छन्l आज ‘देवर्षी नारद सम्मान’द्वारा सम्मानित भएपछि उनलाई कार्यक्रममा उपस्थित सबैले बधाई जनाएl २४ मईमा देवर्षी नारदको जन्मजयन्ती भए पनि यता  खरसाङमा आज पालन गरियोl हिजो दार्जीलिङ र सिलगढीका कार्यक्रम आयोजना गरिएको थियोl         

कार्यक्रम विश्व संवाद मंचका प्रतिनिधि अशोक चौरसियाले आफ्नो स्वागत भाषणमा देवर्षी नारद सृष्टिको पहिलो पत्रकार रहेको उल्लेख गरेl समाजमा नारद मुनि अर्थात देवर्षी नारदलाई यताको कुरा उता उताको कुरा यता गर्ने, पोल लगाउने, कुरा लगाउनेको रुमा गलत व्याख्या गरिएको उनले बताएl देवर्षी नारद जति देवताहरू माझमा सम्मानित थिए उति नै दानवहरू माझमा सम्मानित रहेको आफ्नो स्वागत अशोक चौरसियाले बताएl देवताहरू र दानवहरू माझको युद्धमा देवर्षी नारदको महत्त्वपूर्ण भूमिकाबारेमा पनि उनले उल्लेख गरेl देवर्षी नारद सम्मान स्थानिय भाषाका उत्कृष्ट पत्रकारलाई सम्मान गरिने उनले बताएl 

मुख्य अतिथि पारसचन्द्र आलेले आफ्नो वक्तव्यमा संवादकर्मीहरूको आफ्नै संघर्षका कथाहरू हुने गरेको बताएl देवर्षी नारद सम्मानद्वारा सम्मानित पत्रकार हनोक थापालाई प्रगतिशील पत्रकार बताउँदै यो सम्मान जनाउने सठिक निर्णय भएको बताएl उनले भने, ‘नारद जयन्तीको अवसरमा उनलाई सम्मान जनाउनु सान्दर्भिक भएको छl’ पत्रकार हनोक थापाले यो सम्मानको लागि विश्व संवाद केन्द्र र सबै शुभचिन्तकहरूप्रति आभार प्रकट गरेl उनले भने, ‘यो सम्मानले मैले गर्नुपर्ने कार्य अझ बढेको छl यसका साथै अझ उर्जा प्राप्त भएको छl’ आफ्नो अध्यक्षीय भाषणमा टी टी लामाले पत्रकारिताको गरिमालाई बचाएर राख्नुपर्ने बताएl  आकाशवाणी खरसाङकी समाचार अनि एनके समाचारकी समाचार वाचिका तथा सुपरिचित उद्घोषिका सबिना गिरीले धन्यवाद ज्ञापन गरिन्l   

                    

Comments

  1. हनुक् भाइलाई धेरै धेरै बधाई।

    ReplyDelete

Post a Comment

Popular posts from this blog