
सञ्जय प्रधान- सृष्टिको उत्पत्तिकालदेखि नै यस धरातलमा सहस्रौं अलौकिक घटनाक्रम निरन्तर चल्दै आएको छ अनि यो क्रम अनन्तकालसम्म निरन्तर चलिरहनेछ। यस्तै अलौकिक घटनाक्रममा सहस्रौं अलौकिक शक्तिहरू सृजना भएका छन्। ती अलौकिक शक्तिहरूमाथि मानिसहरूको आस्था र विश्वास युगौं युगदेखि हृदयमा खोपिएका छन्। यही आस्था र विश्वासले यस धरातलमा ईश्वरप्रतिको आस्था र मानवतालाई जीवित राखेको छ। यस्तै आस्था र विश्वासको एउटा उद्गम स्थल बनेको छ भारतको पश्चिम बङ्गाल राज्यको दार्जीलिङ जिल्लाको खरसाङ बजारदेखि तीन किलोमीटर तल स्प्रीङ साइडको उजेरी बस्तीमा अवस्थित सात कन्या देवी एवं माँ कात्यायनी धाम। रोचक पृष्ठभूमि सात कन्या देवी एवं माँ कात्यायनी धामको पृष्ठभूमिलाई हेर्ने हो भने यहाँ अलौकिक रहस्यका साथमा ऐतिहासिक तथ्यहरू बारेमा रोचक कुराहरू सुन्न पाइन्छ। यहाँ पहिला ओढार मात्र थियो अनि यस ओढारभित्र रहेका तीनवटा धाराहरू आजसम्म पनि अविरल गतिमा बगिरहेका छन्। पहाड़ साथै मदेश खण्डको मनमोहक प्राकृतिक सुन्दरताको दृश्य अवलोकन गर्न सकिने अनि वरिपरिका हरियालीले भरिएका स्वच्छ वातावरण भएको स्थान...